Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

शिक्षा विभागको निर्देशन कार्यान्वयन भएन

१ वर्ष अगाडि

शिक्षा विभागले माग गरेका अधिकांश विवरण जिल्ला शिक्षा कार्यालयहरूले उपलब्ध गराउने गरेका छैनन्।  यसबाट जिशिकाले विभागलाई नटेर्ने गरेको स्पष्ट देखिएको छ।

विभागले असार १७ गते शिक्षकको विवरण पठाइदिन देशभरिकै जिशिकालाई साउन १५ गतेसम्मको समयावधि तोक्दै परिपत्र गरेको थियो।  जिशिकाहरूबाट त्यस्तो विवरण नआएपछि विभागले पुनः भदौ २९ गते परिपत्र गर्‍यो।  जिशिकाले पुनः अटेर गरेपछि मङ्सिर १ गते तेस्रोपटक परिपत्र गर्न विभाग बाध्य भयो। 

गत मङ्सिर १५ गतेसम्म त्यस्तो विवरण पठाइसक्नुपर्ने भनिएकोमा हालसम्म ४५ जिल्लाबाट मात्र प्राप्त भएको छ। असारमा विद्यालय कर्मचारीको ढाँचा अनुसारको समष्टिगत विवरण माग गरिएको थियो।  ओखलढुङ्गा, हुम्ला, सोलुखुम्बु, बझाङ र अर्घाखाँचीले विवरण पठाए।  विभागले ७० जिल्लालाई विवरण पठाउन पुनः अनुरोध गरेको छ।  त्यस्तै धार्मिक प्रकृतिका मदरसा, गुरुकुल र गुम्बा विद्यालयको विवरण कात्तिक महिनाभित्र ‘अनिवार्य रूपमा आइपुग्ने गरी पठाउनू’ भनिएकोमा कुनै पनि जिल्लाले त्यस्तो विवरण विभागलाई नपठाएपछि पुनः मङ्सिर १५ गतेसम्म पठाउनू भनेकोमा अझै पनि कसैले पठाएका छैनन्। 

विभागले अपाङ्गता भएका बालबालिकाका बारेमा सूचना सङ्कलन गरी अभिलेख राख्न लागेकाले समावेशी शिक्षा शाखामा असोज मसान्तसम्म पठाइदिन भनिएकोमा जिशिकाले चासो देखाएका छैनन् र विभागले पुनः निर्देशन दिने तयारी गर्दैछ।  जिशिअ, सहायक जिशिअ, शाखा अधिकृत, विद्यालय निरीक्षक र स्रोतव्यक्तिबाट गत आर्थिक वर्षभित्र भएको अनुमगन निरीक्षणसम्बन्धी विवरण तोकिएको ढाँचामा तयार गरी गत भदौ १५ गतेभित्र आइपुग्ने गरी पठाउन भनिएकोमा कसैले पनि नपठाएपछि विभागले पुनः निर्देशन दिने भएको छ।

त्यस्तै चालू आवको प्रथम चौमासिक निरीक्षण, अनुगमन प्रतिवेदनको सारांशलाई तोकिएको ढाँचामा मङ्सिर मसान्तभित्र पठाउन र चौमासिक अवधि समाप्त भएको १५ दिनभित्र उक्त प्रतिवेदन तथा जिशिकाले स्रोतकेन्द्रहरूबाट गरिएका निरीक्षण, अनुगमनको सारांशसमेत तयार गरी विभागको अनुगमन निरीक्षण शाखामा पठाउन दिइएको निर्देशन पनि अवज्ञा गरिएको छ।  यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

विद्यालय तथा जिल्लास्तरबाट सम्पादित राम्रा अभ्यासहरूको संकलन र प्रकाशन गर्ने कार्यक्रम रहेकाले सम्पूर्ण विद्यालयलाई विगतका वर्षहरूमा आफूले गरेका राम्रा अभ्यासहरू र त्यसबाट प्राप्त सकारात्मक परिणामका सम्बन्धमा विवरण तयार गरी अनुगमन तथा व्यवस्थापन शाखामा पठाइदिनुहुन अनुरोध गरिएको कुरा पनि जिशिकाहरूले सम्बोधन गरेका छैनन्। 


प्रकाशित मिति : बुधबार, माघ ५ , २०७३ 10:38:29

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):