Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

कङ्गारु एनसीएसएस झापा कप क्रिकेट हुँदै

१ वर्ष अगाडि

बिर्तामोड । झापामा माघ ६ गतेदेखि २५ हजार पुरस्कार राशिको कङ्गारु एनसीएसएस झापा कप टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) झापाको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

बुट्टाबारी नजिकैको प्रगति युवा समाजको खेल मैदानमा माघ १३ गतेसम्म हुने प्रतियोगितामा झापाका क्लब र कलेज गरी १६ वटा टीमको सहभागिता रहने आयोजक समितिका संयोजक विश्वराज गौतमले जानकारी दिए । आयोजक समिति प्रतियोगिताको तयारीमा जुटेको छ ।

प्रतियोगिताका लागि बिर्तामोडस्थित कङ्गारु एजुकेशन फाउण्डेशनले सर्वाधिक आर्थिक सहयोग गरेको छ । सोही कारण प्रतियोगिताको नाम कङ्गारु एनसीएसएस झापा कप राखिएको हो । आयोजक समिति हाल मैदान व्यवस्थापनमा जुटेको छ । मैदान व्यवस्थापनमा बिर्तामोडका समाजसेवी शेरबहादुर थापा र केदार गिरीले सहयोग गरिरहेका छन् ।

प्रतियोगिताको उद्घाटन सांसद प्रेम गिरीले गर्ने तयारी भएको छ । विजेता टोलीलाई २५ हजार राशिको प्रथम पुरस्कार बीएण्डसी टिचिङ हस्पिटल बिर्तामोडले प्रदान गर्ने भएको छ । उपविजेता टोलीले ट्रफी र प्रमाणपत्रसहित नगद १५ हजार पाउनेछ । प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पुरस्कार दिइने छ । फाइनलपछि म्यान अफ द सिरिज, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, मस्ट सिक्सरलाई समेत पुरस्कृत गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न झण्डै तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संयोजक गौतमले बताए । खेल हेर्न दैनिक करिव एक हजार दर्शक आउने अपेक्षा गरिएको छ ।

प्रतियोगिताका लागि जिविस झापा र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोग रहनेछ । प्रतियोगितामा आयोजक एनसीएसएस झापा, झापाली पत्रकार, न्यू दमक क्रिकेट क्लब, धाइजन क्रिकेट क्लब, कर्णाली एजुकेशन, राइजिङ स्टार, युबीसी जलथल, समयगढ क्रिकेट क्लब, प्रगति युवा समाज, सुरुङ्गा ह्वाइट वास, इलेक्ट्रिकसट ट्रुथबारी, गणेश मन्दिर भद्रपुर, प्रतिभा वारियर्स, घैलाडुब्बा युवा क्लब, बुद्ध क्रिकेट क्लब र बुधबारे क्रिकेट क्लबले सहभागिता जनाउँदैछन् । 

प्रतियोगिता आयोजक समितिमा सचिन सुब्बा, नन्दलाल खतिवडा, लक्ष्मी काफे, केपी अधिकारी, कमल पोखरेल, विश्वराज गौतम, विक्रम दाहाल र प्रविन अधिकारी छन् । झापामा जिल्लास्तरीय क्रिकेट टिम बनाउने उद्देश्यले प्रतिभाको खोजी गर्न प्रतियोगिता आयोजना गर्न लागिएको एनसीएसएस झापाका अध्यक्ष गौतमले बताए । ‘यो प्रतियोगिताबाट उत्कृष्टलाई छनोट गर्ने र उनीहरुलाई क्याम्पमार्फत अघि बढाउने लक्ष्य छ,’ उनले भने, ‘त्यो टोलीले झापा जिल्लाको प्रतिनिधित्व गर्दै राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउने छ ।’

एनसीएसएस झापा नेपाली क्रिकेटको विकृतिविरुद्ध लड्ने स्वतन्त्र संस्था हो ।


प्रकाशित मिति : सोमबार, माघ ३ , २०७३ 19:45:55

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):