Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

बिना कागजातका मोटरसाइकल र चालक प्रहरी फन्दामा

अनारमनी प्रहरीले ९ थान मोटरसाइकल भन्सार बुझायो 

१ वर्ष अगाडि

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको चेकिङ टोलीले विभिन्न मितिमा बरामद गरेका एवम् कागजात नभएका ९ थान मोटरसाइकल आवश्यक कारबाहीका लागि आज मेची भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

इलाका प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार ती मोटरसाइकल चेकजाँचका क्रममा कतिपय मानिसहरुले कुदाएर आएको सवारी छाडेर भागेको र कतिपय मानिसहरुले कागजपत्र लिई आउँछु भनी छोडेर गएकोमा लामो समयसम्म पनि सम्बन्धित मानिसहरु प्रमाण लिई मोटरसाइकल लैजान सो कार्यालयमा उपस्थित नभएकोले ती सवारी भन्सार पठाइएको जनाएको हो । 

बरामद मोटरसाइकलहरुको बारेमा सम्बन्धित यातायात व्यवस्था कार्यालयसमेतसँग लेखापढी गर्दा ईन्जिन नम्बर, चेसिस नम्बर, सवारी किसिम तथा मोडलसमेतमा फरक पर्न आएको हुँदा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि भन्सार पठाउनु परेको जनाइएको छ । आज मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएका मोटरसाइकलहरुमा निम्न नम्बर उल्लेख भएको पाइएको छ । 

मे ४ प ८३१७,  मे ७ प १३२४, को १४ प १३७४,  मे ५ प १३९१, मे २ प ३४५६, मे ३ प ९७८५,  मे ३ प ९४३९,  को ६ प ६०१० र मे ४ प ७८५४ नम्बर उल्लेखित मोटरसाइकल भन्सार बुझाइएको हो ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोशाकको प्रहरी टोली तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको चेकिङ टोलीले हिजो विभिन्न स्थानबाट कागजात नभएका मोटरसाइकल र संलग्न ६ जनालाई फउ गरेको छ ।

फउ पर्नेहरुमा बुधबारे गाविस वडा नं. ३ बस्ने वर्ष २० को सुनिल राई, सोही गाविसको वडा नं. ९ बस्ने वर्ष २० को सागर लावती, मेचीनगर नगरपालिका वडा नं. ४ बस्ने वर्ष २४ को अनिल तामाङ, सोही नगरपालिकाको वडा नं. १ बस्ने वर्ष ३० को संजुकुमार कामी, शिवसताक्षी नगरपालिका वडा नं. २ बस्ने वर्ष २३ को चन्द्र लिम्बु र सोही नगरपालिकाको सोही वडामा वर्ष २८ को सुबास तामाङ रहेका छन् ।
 
उनीहरुले कुदाएर ल्याएको मोटरसाइकलको कागजात नभएको तथा भारतबाट ल्याई नक्कली नम्बर प्लेट लगाई चलाएको भन्ने बुझिन आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । साथै उक्त मोटरसाइकलका नम्बरहरुको सम्बन्धित यातायात व्यवस्था कार्यालयसँग लेखापढी गर्दासमेत उक्त गाडीको चेसिस तथा ईन्जिन नम्बर, सवारी धनी, किसिमसमेतमा फरक पर्न गएको एवम् कागजपत्र विना अवैधानिकरुपमा ती मोटरसाइकलहरु चलाएको हुँदा चालक र मोटरसाईकलहरु थप अनुसन्धान र आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको प्रहरीले जनाएको छ । बरामद गरिएका मोटरसाइकलहरुमा मे ७ प ३९००, मे ३ प ६९९५, मे ७ प ५१२६, मे ३ प १४६२ र को २७ प ५१२६ रहेको जनाइएको छ ।             

             


प्रकाशित मिति : बुधबार, मंसिर १५ , २०७३ 17:57:03

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):